मतदाता नामावली अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौं । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा १ मा रिक्त सदस्यको निर्वाचन घोषणा भएकाले फागुन २९ गतेदेखि सुरु हुने देशभरका मतदाताको नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन हुने गरी निर्वाचन क्षेत्रमा नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट सङ्कलन भएको मतदाता नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ हुने छ ।

आयोगले २०८० फागुन १३ गतेसम्म सङ्कलन भएका विवरणमध्ये मिति २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने बताएको छ। उनले फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिए । यसका लागि फागुन २८ गते आयोगको वेबसाइटबाट मतदाता नामावली प्रकाशन हुनेछ।

अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० सम्पन्न भए पश्चात् चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ। यसअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता अभिवृद्धि एवम् आवश्यक सुरक्षा, सहयोग, समन्वय र प्रचारप्रसारका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्लाका राजनीतिक दलहरूसँग बैठक राखी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन आयोगले निर्देशनसमेत दिएको छ।

यसैगरी, समन्वयका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा परिपत्र हुन र सहजीकरण एवम् सहयोगका लागि सङ्घीय संसद् प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई पत्राचार गरिएको आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर