हुथी विद्रोही समूहको आक्रमणबाट बाँचेका भक्तपुरका धुव्र राउत स्वदेश फर्किँदै

काठमाडौं । दक्षिणी यमनमा बिहीबार हुथी विद्रोही समूहले चालकदलका तीन सदस्यको ज्यान जाने गरी मिसाइल आक्रमण गरेको अमेरिकी कार्गो जहाजमा रहेका एक नेपाली भाग्यले बाँचेका छन् । जहाजभित्रै रहेका भक्तपुर ताथलीका ध्रुव राउत सकुशल फेला परेको र स्वदेश फर्किने तयारीमा रहेको इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले जानकारी दिएका छन् ।

‘चालकदलका तीन सदस्यको मृत्यु भयो । म गार्डका रूपमा कार्यरत थिएँ, बँचेर फर्किँदै छु,’ उनले टेलिफोनमा भने, ‘अप्रत्याशित रूपमा घटना भएपछि कम्पनीले नै मलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ । आइतबार यहाँबाट नेपालतर्फ प्रस्थान गर्दैछु । म सकुशल छु ।’ राउत दुई महिनाअघि मात्रै त्यहाँ गएका थिए । अडेनको खाडीमा टु कन्फिडेन्समा आक्रमण भएको थियो । मृतकमध्ये दुई फिलिपिनो र एक भियतनामी नागरिक छन् । अन्य चारजना घाइते भएको जानकारी अमेरिकी सेन्ट्रल कमान्डले दिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । हुथी समूहले व्यापारिक जहाजमा आक्रमण गरेको थियो । आक्रमणपछि जहाजमा आगो लागेको थियो ।

नेपाली राजदूतावास इजिप्टका द्वितीय सचिव दीपक घिमिरेले शनिबार बिहान राउतसँग कुराकानी गरेका थिए । राउतले घिमिरेलाई नेपाल फर्किने उडान टिकटको व्यवस्थाको पर्खाइमा रहेको जानकारी दिएका थिए । उनलाई आवश्यक परेमा सहयोगका लागि राजदूतावास सम्पर्कमा रहेको राजदूत लम्सालले जानकारी दिएका छन् । (नयाँ पत्रिका दैनिकबाट साभार)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर