त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान कवरब ५ बजेतिर त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

लु २ ख २१२१ नम्बरको यात्रुबाहक धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो। बस पृथ्वीराजमार्गबाट करीब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए। प्रहरी उपरीक्षक केसीका अनुसार दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको उनले बताए। नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारका लागि आइपुगेको उनले बताए। बसचालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मृतकको सनाखत हुन बाँकी रहेको केसीले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर