दुर्लभ पाटे बाघ मृत फेला, दुई वर्षमा पाँच बाघले ज्यान गुमाए

काठमाडौं । बाराको निजगढ नगरपालिका–४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटे बाघ मृत फेला परेको छ । योसँगै पर्सा राष्ट्रिय निकुञ्जमा गएको दुई वर्षको अन्तरालमा पाँच वयस्क बाघले ज्यान गुमाएका छन् ।

कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा एक वयस्क बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । स्थानीयवासीले मंगलबार बिहान बाघ मरेको देखेपछि वनलाई खबर गरेको सवडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।

चार–पाँच दिन अगाडि नै मरेको जस्तो देखिने पोथी बाघ करिब आठ वर्षको रहेको अनुमान छ । पर्सा राष्ट्रिय निकुञ्जको नजिकै मृत फेला पारेको बाघलाई बाख्रा खाएको भन्दै कसैले मासुमा बिष प्रयोग त गरेको हैन भन्ने आंशकामा छानविनका लागि पठाइएको डिभिजन वन कार्यालय बाराका वन अधिकृत विनोद सिंहले बताए ।

यसअघि निकुञ्जको खोरमा रहेको तीनवटा पाटे बाघमध्ये यसअघि दुईको मृत्यु भएको थियो । ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । त्यस्तै पथलैयामा गाडीको ठक्करले एक र द्रुतमार्गमा एक गरी दुई बाघ मृत्यु भइसकेको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनी बाघको सङ्ख्या बढ्दै गएको छ ।

१२ वर्ष अघिसम्म यो निकुञ्जमा तीनवटा मात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ (रोयल बंगाल टाइगर) छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर