‘‘नेपाल वायुसेवा निगम खाने खुम्लेकीरा स्वयं मन्त्रीहरू हुन्’’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम खाने खुम्लेकीरा स्वयं मन्त्रीहरु नै भएको आरोप लगाएका छन् ।

नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित दुई दिने तालिम कार्यक्रममा मन्त्री किराँतीले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु भएको र हरेक दिन मन्त्रीहरु मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको भनी आक्रोश पनि व्यक्त गरे । उनले अहिले राज्य सत्ताको सारा अंग मृत्युप्रायः रहेको टिप्पणीसमेत गरे ।

उनले भने, ‘‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै रहेछ। प्रत्येक मानिसको नियुक्तिमा पैसा उठाएको छ। हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ। सबै आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ। मान्छेको चाहिँ सबैतिर विज्ञता हुँदैन। अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः छ। जति चिमोट्दा पनि ऐय्या भन्दैन, स्वार्थमा दौडिएका छन्। जनता अब जाग्नुपर्छ। दबाब जनताले दिनुपर्छ।’

उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको र नेपालीको रगत रगतमा भ्रष्टाचार रहेको ठोकुवा गरे ।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ

मन्त्री किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएरसँगै लैजानुपर्ने बताउँदै जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको हुनाले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘‘जनताले भनेका छन्, तिमीहरुले होस पुर्‍याएनौँ भने दिन आउँदैछ, त्यसैले मिलेर जाऔँ। धेरै पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ। कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो। गरिबीको विरुद्धमा एकजुट होऔँ। जो अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ। जनताको विश्वासमाथि सम्मान गरौँ। सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि। देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ रु तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर