नवनियुक्त तीन बिना विभागीय मन्त्रीको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा सोमबार अपराह्न आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलसमक्ष बिना विभागीय मन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो मौजुदा मन्त्रिपरिषद्‍मा फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा )९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरेका हुन् । नव नियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । कार्यभार पछि तोक्ने गरी नवनियुक्त तीन मन्त्रीले शपथ लिएका हुन् ।

२०७९ पुस ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो।

२०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भएको थियो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले जेठ १० गते पूर्णता पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर