म रहुञ्जेल राजनीतिमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको र आफू रहुञ्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित शहीद सप्ताहको कार्यक्रममा उनले भने, “धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल (यस्तो हो भनेर भन्न नसकिने) नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको स्पष्ट पार्न चाहन्छु ।” परिस्थितिलाई ध्यान दिँदै आफूले कदम चाल्ने गरेको र प्रतिक्रियावादीले आफूलाई घेराबन्दी उपयोग गरेकै दिन लात्ती हानेर आफू बाहिरिने गरेको उनको भनाइ छ । कम्युनिस्ट शक्तिहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा पटक–पटक समस्यामा पर्ने गरेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “आज नयाँ क्रमभङ्गको दिन बनेको छ, शहीदको सपना पूरा गर्ने सङ्कल्प लिने दिन भएकाले सबै शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।”
आफूहरूले वृहत् कम्युनिस्ट एकताको पहल गरिरहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबै कम्युनिस्ट शक्तिलाई तयार रहन आग्रह गरे । शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो सङ्कल्प पूरा गरेर छाड्ने उनले प्रतिबद्धता व्यक्त गरे । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको र सशस्त्र युद्ध सुरु भएदेखि हजारौँ शहीद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई शहीद घोषणाको काम जारी रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर