समर्थन फिर्ता लिने रविको भनाइले प्रधानमन्त्री प्रचण्ड झस्किए ?

काठमाडौं । तातो–तातो उपनिर्वाचनबाट गर्मी महसुस गरेका सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुने विषयमा अहिले नसोचिएको बताएर पार्टीको पर्ख र हेर भन्ने रणनीति सार्वजनिक गरेका छन् ।
उपनिर्वाचनमा पार्टीको झोमा थप एक सांसद बढाउन सफल सभापति लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा पार्टी सामेल हुने बजारिया आँकलनलाई अस्वीकार गर्दै भने, “बरू सरकारलाई दिएको समर्थन फिर्ताका सन्दर्भमा भने छलफल हुनेछ । ”
वैशाख १० गतेको उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर शुक्रबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारमा सहभागी हुनेभन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी भएको उल्लेख गरे।
“सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्नेमा छलफल गर्नुपर्ने हुन्छ । उपनिर्वाचनबाट निर्वाचित भएर शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं”, ंलामिछानेको भनाइ थियो। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने।

सभापति लामिछानेले आफू चितवन २ बाट निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेको बताए। प्रचण्डले आफूलाई बधाई दिन फोन गरेको र सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्नेबारेको आफ्नो अभिव्यक्तिबारे चासो व्यक्त गरेको लामिछानेको भनाइ छ।

मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले भने, ‘सरकारले जुन हिसाबले न्यूनतम साझा कार्यक्रम ल्याएको छ, हाम्रा महत्त्वपूर्ण कुरा हटाएको छ । त्यसले गर्दा समर्थनकै औचित्यमा प्रश्न गर्ने अवस्था आएको हुँदा के गर्ने भन्नेबारे पार्टीमा छलफल गर्छौं । हामी भ्रष्टाचारमा पुराना फाइल खोलौं भन्ने, सरकारले त्यसलाई नराख्ने भयो भने समर्थन होइन, सबैभन्दा ठूलो विरोधी हुने सम्भावना हुन्छ ।’
उता प्रधानमन्त्री प्रचण्ड भने रास्वपा सरकारमा सामेल भएमा माओवादीको भागको मन्त्रालय कटौती गरेर भए पनि राजनीतिक वृत्तमा स्थिर सरकारको सन्देश प्रवाह गर्न चाहन्थे । तर सभापति लामिछानेको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्ड स्वयं झस्किएका छन् । हुनत प्रतिनिधिसभाको सरकार गठन र विघटनमा रास्वपाको समर्थनले अहिले कुनै सकस हुनेवाला छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर