नामिबियालाई हराएसँगै नेपालको फाइनल खेल्ने अवसर जीवितै

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएसँगै नेपालले फाइनल खेल्ने सम्भावनाको द्वार खुला राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाए । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाए । यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाएका थिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलका थिए । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाए । बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिए । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झारेका थिए ।

जितसँगै नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ । दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । नेपालले यस सिरिजको चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर