कांग्रेससँगको घटनाक्रम भिन्न ढंगले अगाडि बढेको प्रचण्डको नवीन धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् । आज बिहीबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार र कांग्रेस महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताएका हुन् ।
सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृुष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहिँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो,’– उनले भने ।

पार्टी स्थायी कमिटीको बैठकमा अत्याधिक सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न हुँदैन भन्ने सुझाव राखेको उनले बताए । यसैगरी ‘प्रचण्ड’ ले कांग्रेसले महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको बताए । उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताए।‘ जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने बेलामा किन बोलेको हो ? भन्ने प्रश्न उठेको छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर