कपि एन्ड पेस्टविरुद्ध प्रेस काउन्सिल नेपालको कारवाही

काठमाडौं । विद्युतीय सञ्चारमाध्यमको विकास र सरलीकरणसँगै हुबहु सार्ने प्रवृत्ति पनि सञ्चारकर्मीहरूमा मौलाउदै गएकोमा प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्तारसूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ’, काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेर चोरी गर्ने त्यस्ता प्रवृत्तिका सञ्चारमाध्यमहरूलाई निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । ‘आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न र नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो । त्यस्तै, एक लाई भुलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर