माओवादीमा प्रदेश इन्चार्ज फेरबदल, जनार्दन र वर्षमान जिम्मेवारीमुक्त

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जबाट हटाएको छ। यसप्रति असन्तुष्टि जनाउँदै शर्माले पार्टीमा फरक मत पेस गरिसकेका छन्। यस्तै माओवादी केन्द्रले उपमहासचिव वर्षमान पुनलाई पनि विशेष प्रदेश कमिटी प्रदेश इन्चार्जबाट हटाएको छ। पार्टीको स्थायी समितिको मंगलबार र बुधबार दुई दिन बसेको बैठकले शर्मालाई इन्चार्ज हटाएर उपाध्यक्ष अग्नि सापकोटालाई ल्याउने निर्णय गरेको छ।

माओवादी केन्द्रमा ७ भौगोलिक प्रदेश शक्तिशाली मानिन्छ। उपाध्यक्ष पम्फा भुसाललाई प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्ज बनाउने निर्णय गरिएको छ। यसअघि भुसाल जनवर्गीय संगठन इन्चार्जका थिइन्। यस्तै माओवादी केन्द्रले महासचिव देव गुरुङलाई सम्पर्क समन्वय कमिटी इन्चार्ज बनाएको छ।

यस्तै कोसी प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिइएको छ। यसैगरी गण्डकीमा सचिव दिनानाथ शर्मा इन्चार्ज बनेका छन्। गजुरेल र शर्माले पहिलोपटक इन्चार्जको जिम्मेवारी पाएका हुन्। मधेसमा लीलामणि पोखरेल इन्चार्ज बनेका छन्। उनी यसअघि कोसी इन्चार्ज थिए।

यस्तै लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्। यसअघि उनी कर्णाली प्रदेश इन्चार्ज थिए। कर्णालीमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ। यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय भएको छ। यसअघि पोखरेल सम्पर्क समन्वय कमिटी इन्चार्ज थिए। माओवादीले उपमहासचिव पुन इन्चार्ज रहेको विशेष प्रदेश इन्चार्जमा हितमान शाक्यलाई ल्याएको छ। माओवादीले लुम्बिनी इन्चार्ज रहेका मात्रिका यादवलाई भारत प्रवास इन्चार्ज बनाएको छ।

साउन २१ मा बसेको माओवादी बैठकले विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज तोकेको थियो।  प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेललाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर