रौतहटबाट तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत शुकदेव चोकस्थित एक निजी अस्पतालबाट तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
यमुनामाई गाउँपालिका–१ शुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भारत बिहारका ४५ वर्षीय हसिंन अख्तर र २७ वर्षीय मो. तबरेज आलम तथा यमुनामाई गापा–२ भेडियाही टोल बस्ने २७ वर्षाका कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको हो ।

उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने इजाजत–पत्र माग गर्दा निजहरूसँग उपचार गर्नका लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण–पत्र नभएको कारण निजहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले जानकारी दिए । पछिल्लो समय रौतहटमा बिना दर्ता व्यापक रूपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सयौँ नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर