निजगढस्थित रोहित वर्क सपमा विस्फोट, १ जनाको मृत्यु

काठमाडौं ।  बाराको निजगढ नगरपालिका-७ शहीद चोकमा रहेको रोहित वर्क सपमा ग्यास वेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्किँदा एकजनाको मृत्यु हुनुका साथै ५ घाइते भएका छन् । विस्फोटबाट वर्क सपका सञ्चालक निजगढ नगरपालिका-९ का रेशम मगरको मृत्यु भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

मगरले सञ्चालन गरेको रोहित वर्क सपमा काम गर्दै गरेको अवस्थामा कवाड पसलबाट काटेर तामा निकाल्न वर्क सपमा ल्याएको र काट्ने क्रममा अचानक विस्फोट हुँदा उनको मृत्यु भएको हो । गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका-५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ । घाइते सबैको निजगढ नगरपालिका-९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ ।

बम जस्तो विस्फोटक पदार्थ ल्याउने कवाडी सञ्चालक दुई जना पक्राउमा परेका छन् । पक्राउ पर्नेमा कवाडमा काम गर्ने भारत निवासी राकेश जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्नेक्रममा ३५ किलोमिटर पर कलैयाबाट पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । काफ्लेका अनुसार विस्फोट भएको वस्तु हेर्दा बम जस्तै देखिएको र त्यो कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटेका एक सुरक्षाकर्मीका अनुसार उक्त वस्तु प्रोजेक्टाइल इन्टेरियर भएको आशंका गरिएको छ । सो विस्फोट भएको वस्तुमा इन्डियन फिल्ड गन १०५ एच इ–प्रोजेक्टाइल रहेको बताइएको छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर