संसदमा रास्वपा र राप्रपाको कडा आपत्ति, सभामुखबाट जवाफ दिन रुलिङ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेको प्रश्नको जवाफ नआए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सोमबारको संसद् बैठकमा बोल्दै उनले प्रतिपक्षले राखेका जायज माग र प्रश्नको सरकारले जवाफ नदिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे । उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनी
प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनी
प्रश्न समेत गरे । उनले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

यसैबीच प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् । रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ ।

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’ यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर