चेन्नाईमाथी सानदार जित निकाल्दै राजस्थान शीर्षमा

काठमाडौं । राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई सानदार रुपले हराउदै भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७ औं खेलमा चेन्नाई सुपर किंग्स ३२ रनले पराजित भएको हो ।

राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो ।

चेन्नाईका लागि शिभम दुवेले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर ऋतुराज गायकवाडले २९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए ।

मोइन अलीले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २३ रन बनाए । दुवे र अलिले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गरे ।

अजिक्या रहाणेले १३ बलमा १५ रन बनाए । रविन्द्र जडेजाले १५ बलमा ३ चौका सहयोगमा अविजित २३ रन बनाए ।

राजस्थानका लागि एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ विकेट लिए । जेसन होल्डर र कुलदिप यादवले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर जोस बटलरले २१ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए ।

पहिलो विकेटका लागि जैसवाल र बटलरले ५० बलमा ८६ रनको साझेदारी गरे । कप्तान सन्जु सामसनले १७ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए ।

धुव्र जुरेलले १५ बलमा ३ चौका र २ छक्कको सहयोगमा ३४ रन बनाउँदा देवदत्त पडिकल २३ रनमा अविजित रहे ।

राजस्थानले पछिल्लो पाँच ओभरमा २ विकेट गुमाएर ६३ रन बनाएको थियो ।

चेन्नाईका लागि तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १-१ विकेट लिए ।

राजस्थान आठ खेलमा पाँच जित र तीन हारका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उता,चेन्नाई आठ खेलमा पाँच जित र तीन हारका साथ तेस्रो स्थानमा खस्किएको छ ।

यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पनि राजस्थानले रोमान्चक जित निकालेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर