पूर्वअयोग्य लडाकालाई रकम वितरण गर्ने सरकारको निर्णयको तीव्र विरोध

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारल जनयुद्धका अयोग्य लडाकाहरूलाई जनही दुई लाख रुपैयाँ वितरण गर्ने निणर्यको नेपाली कांग्रेसका सांसदहरू तीव्र स्वरमा विरोध गर्न थालेका छन् । मन्त्रीपरिषद्ले रकम वितरण गर्ने कार्यविधि स्वीकृत गरे सँगै कांग्रेसका नेताहरू डा. शेखर कोइराला, गगन थापा र प्रदीप पौडेलले पूर्वअयोग्य लडाकुहरूलाई पैसा दिने सरकारको निर्णयमा आपत्ति जनाएका हुन्।
नेता कोइरालाले पूर्वअयोग्य लडाकाहरूलाई राहत रकम वितरण नगरी रोजगारी दिनुपर्ने तर्क अघि सारेका थिए । यसैगरी गगन थापाले अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारी निर्णय गलत भएको बताए।

बिहीबार ट्विटरमा लेख्दै नेता थापाले भनेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकूलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।’ उनले भनेका छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन, पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित होस्।’


यसैगरी सांसद प्रदीप पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ। एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन्। यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर