शंकास्पद अवस्थामा पुरिराखेको पाटे बाघ फेला पर्‍यो

काठमाडौं । खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा वयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।

एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि वयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।

त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको कँडेलले बताए । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खबर गरेको बताए ।

स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ । बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बंगाल टाइगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर