मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

काठमाडौं । मनाङमा आज शनिबार एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।
प्रजिअ लामिछानेले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो घर मर्मतका क्रममा भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।” माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर