नेपाल ४ विकेटले पराजित

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको तेस्रो तथा निर्णायक खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको १८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८.४ औं ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

तेस्रो खेलमा विजयी भएसंगै क्यानडाले नेपालसंगको एक दिवसीय सिरिज जितेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए ।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौ ओभरमा पेभेलियन फर्केका थिए ।

नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो । दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए । दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो ।

तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए । त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्‍याए । छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे । धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर