तेईस दिनको पैदल यात्रापछि मिटरब्याजपीडित काठमाडौंमा

काठमाडौं । मिटरब्याजपीडितहरू २३ दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेका छन् । न्यायका लागि मार्चको सिलसिलामा उनीहरु हिजो बुधबार बेलुकी नागढुङ्गा हुँदै काठमाडौंको सिफलमा आइपुगेका हुन् । उनीहरुले गत माघ १६ गते शहीद दिवसको दिन पारेर झापा र कञ्चनपुरबाट एकै समयमा पैदल यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि फागुन ३ गते चितवनको नारायणगढमा भेला भएर काठमाडौंतर्फ लागेका थिए ।

मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा सहभागी छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग उनीहरुको रहेको छ । यसअघि गत वर्ष चैत १२ गते मिटरब्याजपीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजपीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

झन्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूका समस्या समाधान नभएको भन्दै उनीहरूले फेरि काठमाडौं यात्रा थालेका हुन् ।

आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाडौंसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर