विधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन् । पार्टीको मङ्गलबार सुरु भएको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति भएको बताए ।

उपसभापति खड्काले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताए । उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको जानकारी दिए । उनले कांग्रेसले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्ने स्पष्ट पारे ।

‘‘नेपाली कांग्रेस संविधानलाई गतिशील दस्ताबेजको रूपमा हृदयङ्गम गर्दछ । संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ । संविधान लागूभए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्क्तिबाट आएका सुझावहरू समेतको आधारमा संविधान संशोधनको आवश्यक नेतृत्व नेपाली कांग्रेस आफैँले लिनेछ ।,’’ उपसभापति खड्काले भने, ‘‘आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप समृद्ध र थप सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तरक्रिया तथा विमर्शमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ । सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना, र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्रको, समृद्धिको आधार पनि हो ।’’

उपसभापति खड्काले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो सङ्केत भएको उल्लेख गरे । उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर