मौसम : सोमबारदेखि शुक्रबारसम्म बदलीको सम्भावना

काठमाडौं । आज सोमबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानमा मौसम बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार जारी गरेको ‘हिउँदे मौसमको विशेष बुलेटिन ३’ जारी गरी  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालका धेरै स्थानमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिएको हो।

‘उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

यसैगरी सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहीबार बागमती, मधेस र कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

शुक्रबार गण्डकी, बागमती र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सचेत गराउँदै महाशाखाले अगाडि भनेको छ, ‘उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ। तसर्थ वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ शनिबारदेखि मात्र मौसम क्रमशः सुधार हुँदै जाने बुलेटिनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर