पोखरामा भारतीय नागरिकबाट अवैध ६ केजीभन्दा बढी सुनचाँदी बरामद

काठमाडौं ।  पोखराबाट स्रोत नखुलेको ठूलो परिणाममा सुनचाँदीका गरगहना र नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पश्चिम बंगाल मेदिनिपूर दासपुर- ११ घर भइ हाल पोखराको मोहोरिया टोलमा भाडाको घरमा बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोमबार साँझ उनको डेरामा छापा मार्दा नगद ६२ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।स्रोत नखुलेको रकमसहित पक्राउ गरेको भौमिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप सुन चाँदी पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । ‘सुरुमा घरभेटीको कोठा भनियो । पछि अनुसन्धान गर्दा भौमिकै कोठा भएको खुुल्यो । कोठामा छापा मार्दा स्रोत नखुल्ने सुन चाँदीको गहन भेटियो’,एसपी थापाले भने ।

भौमिकको साथबाट ५ केजी २२ ग्राम सुनका गरगहना, ९९९.ग्राम काँचो सुनको बिस्कुट र अर्को ५० ग्रामको सुनको ढिक्का फेला परेको एसपी थापाले जानकारी दिए । उनको साथबाट गरगहन र काँचो सुन गरेर ६ केजी ६९ ग्राम बरामद भएको हो । एसपी थापाका अनुसार ६ केजी चाँदी पनि बरामद भएको छ । झन्डै ६० लाख रुपैयाँ बराबरको १३ थान विभिन्न बैंकका चेक, मोबाइल १ थान, भारतीय आधार कार्ड १ थान, २ थान डायरी र ७ थान रजिष्ट्ररसमेत बरामद भएको छ । बरामद भएको सुन चाँदीका गरगहना र नगद झोलामा लुकाइरहेको अवस्थामा भेटेको मंगलबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

भौमिकले मोहोरिया टोलमा कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिएर सुनचाँदीका गरगहना बनाउने काम गर्दै आइरहेको प्रहरीले जनाएको छ । अवैध सुन ल्याएर गरगहना बेचविखन गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको हो । उनीसँग सुनचाँदीका गरगहना बनाउने १० जना बढी कालिगढ कार्यरत रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेको भौमिकलाई बुधबार राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने प्रहरीको तयारी छ ।
‘हामीले जति पनि सुनका गरगहना, चाँदी बरामद गरेका छौं । त्यसको स्रोत उहाँले अहिलेसम्म खुलाउन सकेको अवस्था छैन । अब यसमा थप अनुसन्धान राजस्व अनुसन्धान विभागले गर्छ’, एसपी थापाले भने, ‘अनुसन्धान गर्दाखेरी अन्य व्यत्तिहरुको पनि मिलेमतो देखियो भने अरु व्यक्ति पनि तानिने सम्भावना हुन्छ । उहाँले स्रोत देखाउनुभयो भने त्यही अनुसार निर्णय होला । अहिले थप अनुसन्धानका लागि भोलि राजस्व अनुसन्धान विभाग पठाउछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर