सनातन शास्त्र र काजक्रिया

‘तस्मात् शास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ…’ अर्थात् ‘कुन कार्य गर्न हुन्छ, कुन हुँदैन भन्ने निर्णय शास्त्रले गर्छ ।’ (श्रीमद्भागवत् गीता–१६÷२४) । त्यसैले पनि धार्मिक कार्यको निर्णय गर्दा व्यक्ति वा भीडको भनाइ, व्यक्तिको क्षणिक स्वार्थ आधार मानिँदैन । त्यस्तै चर्मचक्षुबाट देखिएन भन्दैमा शास्त्रको भनाइ गलत हुँदैन । सोझो रूपमा बुझ्न नसकेपनि शास्त्रको वचन नै वैदिक सनातन हिन्दू धर्ममा प्रमाण मानिन्छ ।

वैदिक धर्मशास्त्र

वैदिक सनातन धर्मको अनुयायीहरूका लागि धर्म–कर्म र मोक्षका विषयमा वेद, वेदाङ्ग, स्मृति पुराणहरू नै प्रमाण हुन् तर त्यसमा पनि पहिलो वा प्रामाणिक कुन ग्रन्थलाई मान्ने भन्ने अन्योल रहेको पाइन्छ । वैदिक धर्ममा वेद सबैभन्दा प्रामाणिक ग्रन्थ हो । गुरुपरम्पराबाट मन्त्रसंहिता र ब्राह्मणग्रन्थको रूपमा रहेको शब्दहरूको भण्डार नै वेद हो । यज्ञका कर्ममा प्रयोग हुने वेदवाक्यलाई मन्त्र भनिन्छ ।
मन्त्रको व्याख्या गर्ने वेदको भागलाई ब्राह्मणग्रन्थ वा ‘ब्राह्मण’ भनिन्छ । श्रौतसूत्रमा ती यज्ञहरूको प्रयोग र विधि र क्रम बताइएको हुन्छ । जन्मदेखि मृत्युसम्मका संस्कार बताउने विधि बताउने ग्रन्थ गृह्यसूत्र हो । शुक्ल यजुर्वेदाचार्य डा.आमोदवर्धन कौण्डिन्न्यायन भन्छन्, ‘आफ्ना शाखाका श्रौतसूत्र र गृह्यसूत्र अरु शाखाका वेदभन्दा बलिया प्रमाण मानिन्छन् ।’ स्मृतिहरूमा सदाचार, व्यवहार र प्रायाश्चित जस्ता विभिन्न पक्ष आउँछन् । कथाको प्रसंगबाट मानिसलाई वैदिक धर्म बुझाउने कामचाँहि पुराणको हो । रामायण, महाभारतजस्ता इतिहासका ग्रन्थले पनि विभिन्न दृष्टान्त प्रस्तुत गरेर मानिसलाई धर्ममार्गमा चल्न सिकाइरहेको हुन्छ ।
शास्त्रीय दृष्टिमा विशेषगरी ब्राह्मण, क्षत्री आदि समुदायको पहिचानस्वरूप गोत्र–प्रवर–वेदशाखा–सूत्र आदि पहिचान हुन्छन् । त्यसैको आधारमा कर्मको निर्धारण हुन्छ । कर्म गर्ने अधिकार हुन्छ । ब्राह्मणले त श्रौतस्मार्त कर्म आफ्नो वेदको शाखासूत्रका आधारमा गर्ने परम्परा छ । वेदका विज्ञहरू भन्छन्, ‘जुनसुकै शाखाको वेदमा पनि गृह्यसूत्र हुन्छ । यो पनि वेदजस्तै गुरुमुख गरी पढ्ने परम्परा छ ।’ नेपालका अधिकांश ब्राह्मण शुक्लयजुर्वेदी छन् । शुक्लयजुर्वेदको गृह्यसूत्र पारस्कर गृह्यसूत्र हो । उनीहरूको जन्मदेखि मृत्युसम्म पर्ने संस्कार यसको आधारमा सम्पन्न गरिन्छ । आफ्ना शाखासूत्रको विरोधी नभए धर्मसिन्धु र निर्णयसिन्धुका कुरा मान्य हुन्छन्, नत्र हुँदैनन् ।
आमाबाबुको काजक्रिया

पारस्कर गृह्सूत्रको द्वितीय काण्ड एकादश कण्डिकाअन्तर्गत ७औं मन्त्रले बाबुआमाको क्रिया कति दिन गर्ने भन्ने संकेत दिन्छ भन्छन्, शुक्लयजुर्वेदाचार्य कौण्डिन्न्यायन । उनका अनुसार ‘गुरौ प्रेतेऽपोभ्यवेयाद्दशरात्रं चोपरमेत्’ अर्थात् आमाबाबु र वेद पढाउने गुरुको देहान्त हुँदा १० दिनसम्म अञ्जलि–पिण्डदानादि गर्नुपर्छ ।

धर्ममीमांसाचार्य प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार पछिल्ला २÷३ दिनभन्दा महत्त्वपूर्ण त मृत्युपछिका १० दिन नै हुन् । मरेर प्रेत बनेकालाई प्रत्येक दिन एक एक पिण्ड दिने विधान शास्त्रमा छ । पुराणहरूमा भने दश दिन गरिने कर्मले दशगात्र अर्थात् शरीरका एक–एक अङ्ग बनेर पूर्ण शरीर बन्ने बताइएको छ । त्यसैले पिण्डको संख्याभन्दा पनि दिन महत्त्वपूर्ण हो । अहिले दिनको ३ वा ४ पिण्ड दिएर १० वटा नै पुर¥याउने भन्ने तर्र्क शास्त्रविपरीत हो ।
एघारौं दिनमा प्रेतको उद्देश्य गरी श्राद्ध, दान आदि गर्ने परम्परा छ । यस्तै बाह्रौ दिनमा सपिण्डीकरणमार्फत प्रेतलाई अन्य पितृमा मिलाएपछि पितृको स्वरूप लिने बताइन्छ । यसरी मुख्य कर्म त बाह्रौंका दिन सपिण्डी गरेपछि सकिन्छ । वैदिक धर्म मूल रूपमा पुस्तकका अनुसार तेह्र दिनमा गरिने शुद्धशान्तिको विधान माध्यन्दिनीय वाजसनेयी शुक्लयजुर्वेद शाखामा पाइँदैन तर शाङ्ख्यायन श्रौतसूत्र, आश्वालयन, गृह्यसूत्रमा शुद्धशान्तिको विषय पाइन्छ (शिवराज आचार्य, २०६२ द्वि.सं.,स्वाद्ध्यायशाला) । अहिले चलेको शुद्धशान्तिको विधि र वैदिक शुद्धशान्तिको विधि फरक छ ।

आमाबाबु बितेका बेला अभक्ष्य (शास्त्रले खान नहुने भनेको) नमानिने पदार्थ मात्र बार्ने हो । विशेषगरी नुन र मासुजस्ता पदार्थ बार्नु भन्ने निर्देश हो । क्रियामा बस्दा औषधी खानै नहुने वा मानिसको प्राणै जान लाग्दा उपचार नै गर्न नहुने जस्ता चलन शास्त्रीय होइनन् । शुद्धसँग खानपान गरेर पितृको स्मरण गर्नु भन्ने मात्र शास्त्रको निर्देश हो । समाजमा चलेका कतियय कट्टरता शास्त्रमा नभएको बुझिन्छ । पितृले सेता पदार्थ मन पराउने हुनाले उनीहरूलाई चढाउन पनि यस्तै चन्दन फूल, वस्त्रको प्रयोग हुन्छ । आशौच बार्नेले १३ दिनभरि र वर्ष दिनसम्म यस्ता वस्तुको प्रयोग गर्ने परम्परा छ । १३ दिन भित्र बस्ने र बाँकी समय बाहिर जाने लुगाको प्रकृति भिन्न हुन सक्छ । त्यसो त वैदिक मान्यताअनुसार ब्राह्मणले संधै नै सेता वस्त्र परिधान गर्ने विधान रहेकालाई छुट्टै प्रकारको व्यवस्था गरिरहने आवश्यक्ता नै देखिँदैन ।

‘धर्मसिन्धु’ र ‘निर्णयसिन्धु’ मा काजक्रियाको समय घटाउन मिल्ने तर्क गरिए पनि विद्वान्हरू यी दुवै निकै पछिका ग्रन्थ भएका र शास्त्र नभई शास्त्रीय विषयको व्याख्या मात्र भएको तर्क गर्छन् । वेदको वचन काट्न खोजे स्मृति नै मान्य नहुने सन्दर्भमा यी दुई ग्रन्थले बताएकै आधारमा संस्कार परिवर्तन गर्न सकिँदैन । महाभारतको १८ दिनको युद्धमा मर्नेहरूको पनि क्रिया भएको थियो । शान्तिपर्वमा ‘तत्र ते सुमहात्मानो न्यवसन् पाण्डुनन्दनाः । शौचं निर्वर्तयिष्यन्तो मासमात्रं बहिः पुरात्’ (१÷२) भन्ने वचनले उनीहरूको संस्कार सम्पन्न गर्न एक महिना लागेको बुझिन्छ ।

वि.सं.१९९८ मा जुद्धशमशेरले इस्तिहार जारी गरेको विषयमा समाजमा भ्रम फैलाइएको छ । ‘अहिले १२÷१३ मा कोराभित्र बसेजस्तै पहिले–पहिले एक वर्ष वा १३ महिनासम्म बस्ने परम्परा थियो शासकले नै घटाएर अहिलेको अवस्थामा ल्याइपुर्याएका थिए भने अहिले घटाउन किन नहुने ?’ शास्त्रमै नभेटिने कुरा थियो होला भनेकै भरमा वा आलोचना गरेकै पत्याउन सकिने आधार त छैन नै, यथार्थ के हो भने त्यस बेला आफ्नो यात्रामा अपशकुन हुने भयले जुद्धशमशेरले बरखी बारेकाले सडकमा ननिस्कनु वा देखा नपर्नु भन्ने आदेश दिएका थिए भन्ने इतिहासकारहरू बताउँछन् ।

किन बन्दैछ, बोझ?

हिजोआज पश्चिमाकै अनुकरण गर्ने श्रृंखलास्वरूप पारिवारिक मूल्य–मान्यतामा ह्रास आएको लुकेको छैन । एकल परिवारमा रमाउने र बाध्यतामा बाबुआमा पाल्नुपरे हेलाँ गर्ने चलन बढ्दै छ । आलोचना गर्नेहरूले यसलाई राम्रैसँग उचाल्दै आएका छन्, ‘बाँञ्चुञ्जेल एक घुट्को पानी र एक गाँस खान नदिने । मरेपनि देखावटी गरेर अन्न खेर फाल्ने ।’ मरेपछि त विधिपूर्वक काजक्रिया गर्नुपर्छ भन्ने धर्मले बाँचुञ्जेल त बाबुआमाको सेवा नगर भन्छ होला ?
मानिसले अरुबेला अनावश्यक कार्यमा समय र सम्पत्ति खर्च गरिरहेको हुन्छ तर बाबुआमाको काजक्रिया गर्दा भएको खर्चलाई मात्र किन बोझ ठान्ने ? टेलिभिजन, सिनेमा, घुमघामलगायत मनोरञ्जनका लागि समय र अर्थ खर्च भइरहेको हिसाबै हुँदैन । त्यस्तै कतिपयले त चुरोट, रक्सी, बियरलगायतमा आफ्नो लागि मात्र नभई साथीभाइका लागि प्रशस्त खर्च गरिरहेको हुन्छ । राष्ट्रिय रूपमा हेर्ने हो भने शासकहरूले विभिन्न नाममा करोडौंं रुपैयाँ उडाइरहेका हुन्छन् । त्यस्तै विकासका नाममा गर्नै नपर्ने ठाउँमा खर्च गर्ने र दिगो नहुने ठाउँमा खर्च भइरहेको हुन्छ । यसको हिसाब कसले राखेको होला ?

हुनेखानेले त तडकभडकसहित आमाबाबुको अन्त्येष्टि कर्म गर्छन् तर नहुनेले के गर्ने ? हुनेखानेले जसरी गर्छ नहुनेले त्यसरी नै गर्नुपर्छ भन्ने छैन । संस्कार गर्दा फजुल खर्च होइन श्रद्धा बढी आवश्यक हुन्छ । सबैभन्दा ठूलो कर्म हो । निर्णयसिन्धुका नेपाली व्याख्याकार वेणीमाधव ढकाल भन्छन्, ‘दानदक्षिणा गच्छेअनुसार गर्ने हो । पितृकार्यमा विशेषगरी श्रद्धा महत्त्वपूर्ण हुन्छ, देखावटी होइन ।’ धेरै खर्च गर्ने पुगिसरी आउनेले हो । शय्यादानादिको पक्ष पनि सके गर्ने हो । नसक्नले गर्नै पर्छ भन्ने छैन । आधुनिक समाजका ब्राह्मण पुरोहितले पनि भ्रम छरेर अनावश्यक माग गर्नु हुँदैन । उनीहरूmे हुनेखानेको मात्र नभई हुँदा खाने यजमानको कर्म पूरा गराइदिनुपर्छ ।

के गर्ने त ?

राजनीतिक दलका नेताविशेषले काजक्रिया गरेनन् भन्ने तथ्यकै आधारमा उनीहरूको अनुकरण गर्नुपर्छ वा घटाउँदै लैजानुपर्छ भन्ने कुरा शास्त्रीय मर्यादाविरुद्ध हो । कुन शास्त्रीय हो वा कुन होइन भन्ने विषय सम्बन्धित क्षेत्रका विज्ञहरूले छुट्याउने हो, नेता, पत्रकार, एनजीओका जागिरे, ‘सेलेब्रेटी’हरूले होइन । यसका लागि राजनीतिक वा पेशागत आग्रह–पूर्वाग्रह नबोकेका, आर्थिक लोभलालच नभएका, सरकारी–गैरसरकारी पदधारण नगरेका र स्वतन्त्र रूपमा वेदको अध्ययन गरेका विद्वान् ब्राह्मणहरूको निर्णय मान्य हुनसक्छ । मुख्य कुरा के हो भने शास्त्रीय मान्यता देशको संविधान वा पार्टीको घोषणापत्रजस्तो महिना, वर्ष वा शताब्दीमा परिवर्तन भइरहँदैनन् ।

धर्मलाई अफिम मान्ने कम्युनिष्ट वा प्रगतिशील विचारधारा भएकाहरूले धर्मसंस्कार मान्दिन वा त्यसको अस्तित्व छैन भन्नु र यस्ता क्रियाकलापमा सहभागी नबन्नु अन्यथा मान्न सकिँदैन । केहीले राजनीतिक दलका ठूला नेताले समेत बाबुआमाका क्रिया नगरेकाले यो गर्न आवश्यक छैन पनि भन्ने गरेका छन् । वैदिक धर्ममा व्यक्तिविशेषभन्दा पनि शास्त्रको निर्णय मान्य हुन्छ भन्ने दोहो¥याइरहँदा राजनीतिक दलका नेताहरूको दिन महिना र वर्षमा भइरहने विचार परिवर्तन पनि देखिएकै छ । आफ्नो स्वार्थ पूरा गर्न जनताको आँखामा कसरी धुलो हाल्छन् भन्ने घामजत्तिकै छर्लङ्ग छ ।

अन्त्येष्टिको प्रचलित स्वरूप वैदिक धर्मका अनुयायी नेपालीमा मात्र नभई भारतका विभिन्न समुदाय र मैथिल लगायतका समाजमा पनि चल्दै आएका छन् । काजक्रियामा बस्नेको संख्या, खाने पदार्थ र दानदक्षिणा हुने खर्चजस्ता कतिपय विषय शास्त्रमा भन्दा केही भिन्न देखिएका र दानदक्षिणाका विषयमा देखिएका विकृतिहरू भने हटाउन आवश्यक छ । विकल्प छन् भने शास्त्रलाई नै आधार मानेर गर्नुपर्छ । त्यसका लागि वेदादि शास्त्रको मर्यादा बुझेका, राजनीतिक स्वार्थ र व्यक्तिगत तथा पारिवारिक स्वार्थभन्दा माथि उठेका वैदिक विद्वान्हरूलाई अघि सर्न समाजले प्रोत्साहित गर्नुपर्छ । शास्त्रको ज्ञान भएकाहरूले पनि यस्तो बेलामा निरपेक्ष भएर निर्णय दिन सक्नुपर्छ । रामप्रसाद धिताल

[email protected]

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर