पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच सुरु

काठमाडौं । काठमाडौंको पचली भैरवको खड्गसिद्धि नाच पाटनमा २४ वर्ष पछि सुरु भएको छ । हिजो बेलुकीदेखि पाटनको हखामा सुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाडौंको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् । देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणीलगायतको नाच प्रदर्शन गर्नेछन् ।

एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाडौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा पालैसँग प्रदर्शन गर्ने चलन छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट सुरु भएको यो नाच अब आउने बडा दशैँको अष्टमीका दिन समापन हुन्छ ।

नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ । पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वच्छन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लको पालादेखि सूरु भएको इतिहासमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर