आज तः दिन, देवालीको अवसरमा भक्तपुरमा विशेष पूजाआजा

भक्तपुर । आज वैशाख शुक्ल पक्षको सप्तमी तिथि अर्थात् नेवारी समुदायमा तः दिनको नाममा प्रचलित दिन हो । नेवारी समुदायमा अक्षय तृतीयाका दिनदेखि सुरु हने आजको तः दिन देवाली पूजाको मुख्य दिन हो । तः दिनको अवसरमा काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमा चौपायाको बलि चढाएर आगामी वर्ष दिनसम्म शुभ होस्, भलो होस् भन्ने कामना गरिएको छ ।

मानिस भएर जन्म पृथ्वीमा जन्म लिएपछि उनै पार्थिव वस्तु ग्रहण गरेर जीवनयापन गरेपछि पृथ्वीमाताको सन्तानको नाताले वर्षको एक दिन पृथ्वी भूमिपूजन गर्ने परम्परालाई देवाली अर्थात् नेवारी भाषामा “दुगुपूजा” भन्ने प्रचलन रहेको छ ।

 

देवालीको अवसरमा आज श्रद्धा र गच्छेअनुसार, पृथ्वीमातालाई अक्षता, फूल, चन्दन, पञ्चमेल (मिठाई), कोङा (सुकेको माछा) स्याबजी (चिउरा भुटेर फूल उठेको), कालो भटमास, अदुवाका टुक्रा, मासबाट बनाएको बारा, चटामरी (चामलको पिठोको रोटी), जनै, फलफूललगायतका सामग्रीसहित बोकाको बलि अर्पण गर्ने गरिन्छ । नेवारी समुदायमा अक्सरगरी राँगो मासुको परिकार बढी खाने प्रचलन भएतापनि देवालीको दिन राँगो मासुको कुनैपनि परिकार बनाइँदैन् । यसदिन राँगोको मासुलाई अपवित्रको रूपमा लिइन्छ ।

देवाली पूजा मनाउन नेवारहरू एक दिन पूर्व थकाली (जेठा) ले कपाल खौरेर नुहाईधुहाई हात, खुट्टाका नङ काटेर शुद्ध गर्ने परम्परा पनि रहेको छ । नेवार समुदायमा देवाली पूजा अक्षय तृतीयादेखि सिथि नःखसम्म आइतबार र बिहीबारका दिन मनाउने प्रचलन विद्यमान छ । बिहान आराध्य देवीको पूजा गरिसकेपछि समेबजि (फूलप्रसाद) ग्रहण गर्ने र बेलुकी तन्त्रोक्त विधिपूर्वक बलि चढाएको बोकाको टाउको (स्यु) खाने चलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर