बग्दादमा अमेरिकी ड्रोन आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं ।  इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ ।

पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा शक्तिशाली कताइब हिजबुल्लाहका कमाण्डर र उनका दुई सहयोगी सवार थिए । आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर खरानी भएको थियो । यसैक्रममा घटनास्थलमा भीड जम्मा भएको थियो ।

एक अमेरिकी अधिकारीले कताइब हिजबुल्लाहका एक शीर्ष कमाण्डरलाई ड्रोन आक्रमणमा निशाना बनाएको बताए । इराकी अधिकारीका अनुसार मारिएका मध्ये एकजना विसाम मोहम्मद अबु बकर अल–सादी सिरियामा कटाइब हिजबुल्लाहको कारबाहीका कमाण्डर थिए ।

जोर्डनको सैन्य आधारमा भएको हमलापछि अमेरिकाले गत हप्ता इराक र सिरियामा इरान समर्थित आतंकवादी समूहका दर्जनौं स्थानमा बमबारी गरेको थियो जसमा धेरै मिलिशिया सदस्य मारिएका थिए । क्षेत्रीय तनावका बीच अमेरिकाले फेरि एकपटक ड्रोन आक्रमण गरेको छ ।

अमेरिकाले जोर्डनमा रहेको सैन्य शिविरमा भएको आक्रमणको लागि इराकको इस्लामिक रेजिस्टेन्सलाई दोष दिएको छ । मारिएका मिलिसिया कमाण्डर इस्लामिक प्रतिरोध संगठनका नेता रहेको अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर