नागार्जुन क्षेत्र पर्यटनको हब बन्दै

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रहरू सबैको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँका पर्यटकीय क्षेत्रले आन्तरिक र बाह्रय पर्यटकहरूको मन लोभ्याउने गरेका छन् ।

घुम्दा आनन्द लाग्ने नगरपालिका क्षेत्रमा इँचङ्गुनारायण मन्दिर, हल्चोक भैरव, रानीवन क्षेत्र, नागार्जुन पर्वत, जमाचो, ह्रवाइट गुम्बा, वद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थानलगायत पर्यटकहरूलाई आकर्षण गर्ने धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र सबैको रोजाइको थलो बन्दै गएको छ ।

त्यस्तै, स्विट्जरल्यान्ड पार्क, हसनटार गुम्बा, भुवनेश्वरी मन्दिर पञ्चकन्या मन्दिरलगायत विभिन्न होमस्टेसमेत रहेको नागार्जुन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र पुनःनिर्माण गर्दै गएकाले नगरपालिका क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र पर्यटकको आकर्षणको थलो बनेको हो ।

नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र सम्बर्धन गर्ने कार्यलाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए ।

“नगरपालिका क्षेत्रका उक्त पर्यटकीय क्षेत्रमा पुगेर आनन्द लिन र प्राकृतिक दृश्यावलोकन गर्न सयौं आन्तरिक तथा वाह्य पर्यटक ती स्थानमा पुग्छन्” नगर प्रमुख बस्नेतले भने, “नगरपालिका भित्रका धार्मिक र तथा पर्यटकीय क्षेत्र नगरपालिकाको अनुपम प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुन् ।”

नगरपालिका क्षेत्रका रमणीय स्थानमा कतै मठमन्दिर छन् त कतै गुम्बाहरु बनेका छन् । काठमाडौँ उपत्यकाकै नगरपालिकामध्ये सबैभन्दा बढी नागार्जुन नगरपालिका क्षेत्रमा रमणीय स्थान रहेका छन् । नगरपालिका क्षेत्रभित्र उक्त प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रसम्म सहजरूपमा पुग्न सडक निर्माण भएका छन् भने ती क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण भइरहेको नागार्जुन नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर