बिपीमा अनशन बसेका चार विद्यार्थी बिरामी

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी पढाई सुचारुको माग गर्दै रिले अनशनमा बसेका छन्। “विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा” भन्ने नारा सहित गत ६ दिनदेखि विद्यार्थीले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधि यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनशनमा बस्दै आएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा. ओम शान्ति रजतले बताए ।

गत २४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सक बढुवा प्रक्रियाको माग गर्दै बिपी प्रतिष्ठानमा पठनपाठन अवरुद्ध गर्दै आएपछि बिपी प्रतिष्ठानका विद्यार्थीले विद्यार्थीले पढ्न पाउनुपर्ने माग राख्दै बाध्य भएर रिले अनशनमा बसेको उनले बताए ।

पछिल्लो समय बिपी प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीको बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै आन्दोलनरत भइरहेकोमा गत कार्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहबरमा पुस २ गते सुरु गरेर १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिएर बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो।

उक्त समय बितिसक्दा सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि गत २४ दिनदेखि करिब १५ वर्षदेखि रोकिएको आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न दबाब दिन पठन पाठन बन्द गरी शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आन्दोलित भएको छ ।

बिपी प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीहरूको बढुवा प्रक्रियाको माग जायज भए पनि यसको प्रत्यक्ष असर विद्यार्थीमा परेको अध्यक्ष डा. रजतले बताए । २४ सै घण्टा रिले अनशनमा बस्दा चार जना विद्यार्थीहरू बिरामीसमेत परेर उपचार भइरहेको उनले बताए । बिपी प्रतिष्ठानको समस्या प्रधानमन्त्री र मुख्यसचिवले दुई साताअघि नै कार्यकारिणी समितिको बैठक राखेर शिक्षक र कर्मचारीको माग सम्बोधन गरी सञ्चालक परिषद् (सिनेट) बैठकको मिति तोक्नु भन्दै निर्देशन दिए पनि सफल भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर