सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर