आज संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।

वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ ।

संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।

अधिवेशन प्रारम्भको दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको जानकारीको पत्र पढेर सुनाइने छ । यस्तै अध्यक्षमण्डलको मनोनयन पनि हुने छ । अधिवेशन नभएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश दुवै सदनमा पेस हुने छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेश अधिवेशनको पहिलो बैठकमा पेस गर्ने व्यवस्था अनुसार सभामा पेस हुने छ । यस्तै सङ्घीय संसद्को कार्यवाहक महासचिव तोकिएको जानकारी पनि दुवै सदनमा दिइने छ । अधिवेशनमा विधायिकी कार्यतालिका व्यवस्थित गर्न खोजिएको छ । विचाराधीन विधेयकको छलफलको मिति प्रस्तावित छन् । हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको एक प्रतिवेदन तयारी अवस्थामा छ । अन्य विधेयकमा छलफल भए पनि विषयगत समितिले प्रतिवेदन तयार पार्न सकेका छैनन् ।

राष्ट्रिय सभातर्फ पनि विधायन समितिमा दफावार छलफल जारी भए पनि प्रतिवेदन बन्ने चरणमा पुगेका छैनन् तर दुई विधेयक दफावार छलफलको अन्तिम चरणमा छन् ।  सङ्घीय संसद्मा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । जसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । सरकारले प्राथमिकताका आधारमा हिउँदे अधिवेशनमा पहिलो प्राथमिकतामा राखेर पेस गर्ने विधेयकको सूची पनि तयारी गरिरहेको छ । पहिलो प्राथमिकताको सूचीमा सरकारले ३० भन्दा बढी विधेयकलाई राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर