रास्वपाको राष्ट्रिय गौरवका आयोजनामा दबाबमूलक अभियान

काठमाडौं । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आइतबारदेखि देशव्यापी दबाब अभियान सञ्चालन गर्दैछ । सभापति रवि लामिछानेले दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्‍घाटन गर्दैछन् ।

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।

मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको नेतृत्व भने सांसद सोबिता गौतमले गर्दैछन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

रास्वपाले विकास निर्माणमा दबाब दिने उद्देश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । अभियानमा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएका कुनै पनि सामग्रीको प्रयोग नगर्नेसमेत रास्वपाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर