विश्वकै सबैभन्दा बढी उमेर १२१ वर्षीया बाटुली लामिछानेको निधन

काठमाडौं । विश्वकै सबैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–८ थानसिङ छापथोककी १२१ वर्षीया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको नाम गिनिज वुकमा लेखाउने अभियान रोकिएको छ । उनलाई विश्वकै ज्येष्ठ नागरिक भएको दावी गरिएको छ । लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको परिवारजनको दावी रहेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड छ ।

उनलाई बस्न गाउँमा घर बनाइएको छ भने पूर्वप्रदेश मन्त्री तथा सांसद एवं स्थानीय तहको पहलमा मासिक रूपमा नियमित भत्ता उपलब्ध गराइएको थियो । सामान्य बिरामी रहेकी बाटुलीले तीन दिन अगाडिदेखि सामान्य खानेकुरासमेत खान छाडेकी थिइन् । वृद्धाको अक्सिजनको मात्रासमेत कमी भएको थियो । उनको आफ्नै निवासमा शुक्रवार बेलुकी निधन भएको पनाति श्याम ढुंगानाले जानकारी दिए । वृद्धा बाटुलीको इच्छाअनुसार गएराति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

दिवंगत वृद्धा बाटुलीको पार्थिव शरिरमा उनका ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागवत्ती दिए । बाटुलीका दुई छोरा र तीन छोरीमध्ये हाल नेत्रप्रसाद मात्र जीवित छन् । वृद्धा बाटुलीलाई विश्व रेकर्डमा नाम लेखाउन विभिन्न क्षेत्रबाट प्रयास गरिएपनि लेखाउन सकिएको थिएन ।
उनलाई सरकारीस्तरबाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ । वृद्धालाई भेट्न सरकारीस्तरका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सयौं सर्वसाधारण उनको घर ककनीको मकैचौर पुगेका थिए ।

विसं १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक बाँसवारी गाविस–१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी वृद्धा बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गापा–८ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएको अभिलेखमा उल्लेख छ । हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र एक जनाति छन् । यसअघि, ‘जीवित देवी’ को उपमा पाएकी नुवाकोटकी वृद्धा बाटुली लामिछाने आगामी चैत्र १० गते १२२ औं जन्मदिन मनाउने क्रममा थिइन् ।
बाटुलीलाई २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर