आर्मीलाई पहिलो पटक आहा रारा गोल्डकप उपाधि

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ । प्रतियोगिताको २३औँ संस्करणमा शनिबार भएको फाइनलमा आर्मीले पहिलो पटक आहा रारा उपाधि जितेको हो । आर्मीले १२ लाख एक हजार रुपैयाँसहित ट्रफी हात पारेको छ ।

सहारा क्लबको आयोजनामा हुने आहा रारामा आर्मीले पाँच वर्षअघि थ्रीस्टारसँग फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । आर्मी यसअघि आहा रारामा चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन । उपविजेता बनेको थ्रिस्टारले छ लाख एक हजार रुपियाँसहित ट्रफीमा चित्त बुझाएको छ ।

खेलको ३८औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । जिलेस्पीजंग कार्कीले हेडरमार्फत गोल गर्दै आर्मीका लागि खाता खोलेको हो । सिद्धान्त चौधरीले दिएको पासलाई कार्कीले गोलमा परिणत गरे । दोस्रो हाफमा फत्तेमान घलेले आर्मीका लागि अर्को गोल थपेका थिए । ८३औँ मिनेटमा फत्तेमान घलेले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा थपिएको ६ मिनेटको अतिरिक्त समयमा आर्मीले अर्को गोल ग¥यो । आर्मीका लागि तेस्रो गोल वसन्त जिम्बाले गरेको हो । आहा रारामा त्रिभुवन आर्मी र थ्रीस्टार पछिल्लोपटक २०७५ को फाइनलमा आमनेसामने भएका थिए । त्यति बेला ट्राइब्रेकरमा थ्रीस्टारले आर्मीलाई ५–४ ले पराजित गरेको थियो ।

त्रिभुवन आर्मीले कप्तान भरत खबास र दुई फरवार्ड भरत खवास र दिनेश हेन्जन बिनै उपाधि हात पारेको हो । तीनै जना खेलाडी चोटका कारण शनिबार बेन्चमा थिए । आर्मीको कप्तानको जिम्मेवारी जिलेस्पी जंग कार्कीले सम्हालेका थिए ।

खेलामा थ्रिस्टारले गोल गर्ने केही मौका पाए पनि उपयोग गर्न सकेन । थ्रिस्टारका प्रशिक्षक विक्रम लामा आफ्नो टिमले पाएका केही मौका उपयोग गर्न नसक्दा पराजित भएको बताए । यता, आर्मीका प्रशिक्षक मेघराज केसीले थ्री स्टारले प्रभावशाली खेलेको भए पनि आफूहरुको स्टामिना र टिम वर्कका कारण विजयी भएको प्रतिक्रिया दिए ।

खेलमा त्रिभुवन आर्मीका विमल पाण्डेले बेस्ट प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड जिते । उनले टेल्जीको स्कुटर पाएको छ । मेघराज केसी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा रारा उपाधि दिलाउन सफल भएको छ ।

आर्मीका जिलेस्पीजंग कार्की उत्कृष्ट फरवार्ड बने । उनले शनिबारको फाइनलमा कप्तानीसमेत गरेका थिए । उनी फाइनल खेलको म्यान अफ दि म्याचसमेत भए । आर्मीका समीट श्रेष्ठ उत्कृष्ट गोलकिपर बने । आर्मीका लागि प्रतियोगिताभर तीन गोल गरेका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता बने ।

उपविजेता थ्री स्टार क्लबका विवेक पौडेलले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए । जावलाखेल युथ क्लबले फेयर प्ले अवार्ड जितेको छ । विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । माघ ९ गतेबाट सुरु भएको यसपालिको आहा रारामा एक विदेशीसहित १२ टोली सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर