बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत जाँदै नेपाली टोली

काठमाडौं । बाँदर आतंक नियन्त्रणबारे अध्ययन गर्न विज्ञहरू भारत जाने भएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू, पशु चिकित्सक र वनका रेन्जरसमेतको टोली भारतको हिमाञ्चलमा बाँदरको विशेषगरी बन्ध्याकरणसम्बन्धी अध्ययनका लागि जाने भएको समितिले जनाएको हो ।

बाँदरले किसानलाई दिएको दुःख सहन नसकी खेतबारी बाँझै छाड्ने र बसाइँ सर्नेको संख्या बढेसँगै समितिले नियन्त्रणको उपायमा बन्ध्याकरण पनि एक भएको भन्दै त्यसबारे अध्ययन गर्न विज्ञ टोली जान लागेको समितिका सदस्य अम्मरबहादुर थापाले जानकारी दिए । हिमांचल प्रदेशमामा बाँदरको नियन्त्रणको लागि बन्ध्याकरण विधि अपनाइएको छ ।

सोही विधि नेपालमा पनि ल्याउन सके बाँदर नियन्त्रणको विकल्प हुनसक्ने समितिले जनाएको छ । अध्ययनको लागि समितिले कृषि र वन मन्त्रालयसँग समन्वय गरेर १० जना भेटेरिनरी डाक्टर, पाँचजना फरेस्ट रेन्जर र सांसदहरूसमेत गरी करिब २० जनाको टोली बाँदरको बन्ध्याकरण प्रविधि बुझ्न हिमाञ्चल प्रदेश जान लागेको हो । बाँदरको बन्ध्याकरण गर्ने विधि अरू जनावरको जस्तै छ ।

अस्पतालमा ल्याएका बाँदरको मात्र बन्ध्याकरण हुने भएकाले बाँदर बटुल्न र एकैपटक ठूलो स‌‌ंख्यामा बन्ध्याकरण गर्नुपरे जनशक्तिको व्यवस्थापन गर्नुपर्ने विज्ञको भनाइ छ । यसका लागि जनशक्ति बढाउन अध्ययन, अध्यापन वा तालिमको आवश्यकता पर्ने भएकोले १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा भएको समितिका सदस्य थापाले जानकारी दिए ।

बाली नालीलाई बाँदरले मात्र होइन खेतबारी आसपास जमिनमुनि बस्ने दुम्सीले पनि सखाप पार्न थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि नियन्त्रणको विकल्प खोजिरहेको मन्त्री डा. वेदुराम भुसालले जानकारी बताए ।

ठूलो लगानी र परिश्रमको फल खाने बेलामा बाँदरले बाली नाश गरिदिँदा कृषकहरू मारमा परेका छन् । हालको परिपेक्षमा सबैभन्दा ठूलो समस्या नै बाँदरको आतंक बनिरहँदा निकै दुःख–कष्टले लगाएको अन्नबाली जोगाउन नै किसानलाई सास्ती हुने गरेको छ ।अन्नबाली नाश गरिदिँदा आफ्नो बासस्थानसमेत छोड्नुपर्ने बाध्यता किसानको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर