काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच सुरु
काठमाडौं । काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच काष्ठमण्डप क्षेत्रमा सुरु भएको छ । हिजो बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमासुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाडौंको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् ।
देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणीलगायतको नाच प्रदर्शन गर्नेछन् । एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने चलन छ ।
तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रूपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट सुरु भएको यो नाच २०८१ सालको बडादशैँको अष्टमीका दिन समापन हुन्छ ।
नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ। पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएको इतिहासमा उल्लेख छ ।