सुपर सिक्समा नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज (बुधबार) बंगलादेश भिड्दै छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ। नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे सुरु हुनेछ।

सुपर सिक्समा नेपाल अंकविहीन रुपमा खेल्दैछ। सुपर सिक्समा प्रवेश नगरेको अफगानिस्तानलाई हराएका कारण यस खेलबाट नेपालको अंक जोडिने छैन। यद्यपि नेपालको नेट रनरेट भने जोडिनेछ। यदि नेपालले सुपर सिक्समा स्थान बनाएका पाकिस्तान र न्युजिल्यान्डमध्ये एक टोलीलाई हराएको भए नेपालको खातामा अंक जोडिने थियो।

बंगलादेशको खातामा २ अंक छ। समूह ‘ए’को उपविजेता बन्दै बंगलादेशले सुपर सिक्समा स्थान बनाएको हो। बंगलादेशले सुपर सिक्समा पुगेको आयरल्यान्डलाई हराएका कारण २ अंक जोडेको छ। समूह चरणमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। अर्को खेलमा अमेरिकामाथि १ सय २१ रनको फराकिलो जित निकालेको थियो।

नेपालले सुपर सिक्सको दोस्रो खेलमा समूह ‘ए’को विजेता भारतसँग शुक्रबार खेल्ने तालिका छ। सुपर सिक्समा आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु नपर्ने कारण नेपालले भारत र बंगलादेशसँग मात्रै खेल्न लागेको हो। सुपर सिक्सको समूह ‘ए’मा नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, र आयरल्यान्ड छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङल्यान्ड र जिम्बाबे छन्। दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर