शहीद सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहेको बताएका छन् ।

शहीद दिवसको अवसरमा मंगलबार राजधानीको लैनचौरको शहीद स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गरे । उनले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको पनि बताए । उनले भने, ‘जहानियाँ राणाशासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं. १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदै आएका छौँ । यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता भएका योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्दछु । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गर्नुभएको छ ।”

प्रधानमन्त्रीले भने, “राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने छन् । आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो । त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर