संसदीय समितिमा सभापति आरजु राणा र सांसद प्रेम सुवालबीच सवालजवाफ

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बने । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवार बैठक बसेको थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

विधेयकमा संशोधन राख्ने क्रममा आफूलाई सभापति आरजु राणा देउवाले बीचमा बोल्न नदिएको भन्दै सांसद सुवाल आक्रोशित भएका हुन् । सभापति राणा र सुवालबीच बैठकमा भएको सवाल जवाफ यसप्रकारको छः–
आरजु राणाः पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।

प्रेम सुवालः पोइन्ट नै हो । तपाईँहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यू । तपाईँहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईँहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोइरालालाई त तपाईँहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्यूले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।

उद्योगमन्त्रीः त्यतातिर नजाऔँ माननीयज्यू ।

प्रेम सुवालः किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के? (टेबल ठटाउँदै) उभिएर र पुनः टेबल ठटाए ।

आरजु राणाः रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यू । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।

प्रेम सुवालः तपाईँलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?

आरजु राणाः दुई, तीन वटा बाँकी छ अब । तपाईँले गरेर जानुस् । मन्त्रीज्यू कुरिरहनु भएको छ ।

प्रेम सुवालः त्यसरी रोक्न पाइँदैन् । पक्षपात गर्न पाइँदैन् ।

आरजु राणाः रोकेको होइन । पक्षपात गरेको होइन ।

प्रेम सुवालः किन होइन ?

आरजु राणाः पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।

प्रेम सुवालः (बस्दै) तपाईँहरुको समर्थन गर्न आएको होइन म ।

आरजु राणाः समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।

प्रेम सुवालः विरोध गर्नासाथ किन रोक्नुभयो ?

आरजु राणाः मलाई लाग्दैन कि तपाईँले विरोध गरेको हो । मलाइ यो विरोध होइन जस्तो लाग्छ । यो ठीक छ । संशोधन हाल्नैपर्छ ।

प्रेम सुवालः आज युवाजति ८० लाख विदेश पठाउनुभयो । आज देश ध्वस्त पार्नुभयो । तपाईँहरुले किन रोक्नुभयो ।

अन्य सांसदहरुः नरिसाउनु न माननीयज्यू ।

आरजु राणाः छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।

प्रेम सुवालः अरू कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यू ? त्यस्तो पक्षपात गर्न पाइँदैन् ।

आरजु राणाः ठीक छ ठीक छ प्लिज । तपाईँ लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो ।

प्रेम सुवालः यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाईँ उद्योगको मन्त्री (उद्योगमन्त्रीलाई इंगित गर्दै) के यो बोल्न पाउँदैन् ?

उद्योगमन्त्रीः पाइन्छ, पाइन्छ किन नपाउनु ?

प्रेम सुवालः तपाईँको मातहतको काम राम्रोसँग गर्नुप-यो । जनतालाई धोका दिन पाइँदैन् मन्त्रीज्यू ।

प्रेम सुवालः (पाना पल्टाउँदै आफ्नो संशोधन राख्दै) ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु सभापति महोदयमार्फत धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर