जनताको सहभागितामा बजेट बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् ।

वीरगन्जमा आयोजित प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमूल सुधार’ गरिने विश्वास दिलाए ।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवम् मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए । पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सीमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै उनले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्त्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर