नवलपुरमा ४० जना कुष्ठरोगका बिरामी
काठमाडौं । नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगका बिरामी फेला परेका छन् । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । चालु आर्थिक वर्षमा १६ जना नयाँ बिरामी फेला परेका हुन् जसमध्ये ८ जनालाई भने निको भएको छ । सबैभन्दा धेरै गैँडाकोटमा महिला ५ र पुरुष ११ गरी १६ जना भेटिएको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए ।
त्यसैगरी कावासोती नगरपालिकामा १ महिला ७ पुरुष ,देवचुली नगरपालिकामा २ महिला ५ पुरुष , मध्यविन्दु नगरपालिकामा १ महिला ४ पुरुष ,विनयित्रिवेणी गाँउपालिकामा ३ पुरुष गरी नवलपुरमा ४० जना बिरामी फेला परेका हुन् । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यअनुसार सन् १९५४ देखि जनवरी ३० तारिखमा विश्वभरबाट यो रोगविरुद्ध दिवस मनाउन थालिएको हो । नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।