अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा

काठमाडौं ।  ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। अफगानिस्तानलाई हराउँदा नेपालका आकाश चन्द प्लेयर अफ द म्याच भए। उनले अफगानिस्तानका ५ विकेट लिएका थिए। टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन पुगे। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे। नेपालका लागि ओपनर अर्जुन कुमालले १० रन जोड्दा बिपिन रावल २ रनमै आउट भए। १२ बल खेलेका गुल्शन झा मात्रै १ रनमा बोल्ड भए। त्यसपछि आएका कप्तान देवले नेपालको इनिङ सम्हाल्दै जितसम्म डोहोर्‍याएका हुन्। दीपक बोहोरा टोलीलाई ६ रन आवश्यक भएको अवस्थामा २७ रन जोडेर आउट भए।

आकाश त्रिपाठी १६ रन, दीपक डुम्रे ५, दिपेश कंडेल ४, आकाश चन्द १ रनमै आउट भए। तिलक भण्डारी शून्य रनमा नटआउट रहँदा सुवास भण्डारी ९ रनमा अविजित रहे। अफगानिस्तानका फारिदुन दाउड्जाइले ३ विकेट लिए। खालिल अहमेद र नाशिर खानले समान २ विकेट लिँदा अल्लह मोहमद घजानफार र आरव गुलले एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भएको थियो।

अफगानिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर आकाश चन्द चम्किँदा अफगानिस्तान पूरै ओभर क्रिजमा टिक्न सकेन। आकाशले अफगानिस्तानका ब्याटरलाई लामो समय क्रिजमा टिक्न दिएनन्। उनले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए। गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट लिँदा दिपेश कँडेलले २ विकेट आफ्नो नाममा गरे। अफगानिस्तानलाई कम स्कोरमा रोक्नका लागि पहिलो ओभरमै गुलशन झाले सफलता दिलाएका थिए।  पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमै दिपक डुम्रेको हातबाट क्याच आउट गराए। त्यसपछि आकाश चन्द चम्किँदा अफगानिस्तानको इनिङ धरापमा पर्दै गयो। आकाशले आफ्नो पहिलो ओभरमै सफलता हात पारे। दोस्रो ओभरको तेस्रो बलमा आकाशले खालिम तनिवाललाई पनि शून्य रनमै विकेट किपर विपिन रावलको हातबाट क्याच गराउँदै पेबेलियन फर्काए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर