हिमाली जिल्ला मनाङको तापक्रम माइनस २२ डिग्री

काठमाडौं । हिमाली जिल्ला मनाङको तापक्रम दिनहुँ घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्छ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।”
मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।”

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए ।

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर