दोस्रो दिन पनि न्युरोडका व्यापारीहरू आन्दोलित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज दोस्रो दिन बुधबार पनि आन्दोलित छन् ।
महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।

उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघसंस्था, व्यावसायिक संघसंस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका छन् ।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यावसायिक भविष्य संकटमा पर्ने दाबी गरे । संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धराशायी र पलायन गराएको आरोप लगाए ।

उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु पलायन हुने अवस्था आउने बताए । उनले महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत भएको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनावश्यक रूपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको आरोप लगाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर