के माओवादी-एमाले नजिकिन थालेको हो ? होइन भने अन्य दललाई के को चासो ?

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि जुनसुकै बेला निर्णायक आन्दोलनमा जानसक्ने हुन्छ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका एमाले अध्यक्ष ओलीले भने आज मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग सामूहिक र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
एमालेको सिंगो नेतृत्व पक्तिसहित बालुवाटार पुगेका ओलीले मध्यपहाडी यात्राको क्रममा आफूहरुलाई प्राप्त जनताका माग र समस्याहरुको बारेमा प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । एमालेले १८ दिनको यात्राका क्रममा स्थानीय रुपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग समावेश गरेको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्ताबारे तस्बिर प्रकाशन गर्दै ओलीले फेशबुकमा लेखेका छन्, “मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौं। १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्। मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु। प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ। यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्वअर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौं।”

ओलीको फेसबुक स्टाट्स जेभए पनि असली कुरा माओवादीसँग विगतमा भएका पार्टी एकीकरण र त्यसपछि उत्पन्न विग्रहका सम्बन्धमा विगतमा गरिएका गल्तीहरु सच्चाउने गरी यसपटक पार्टी एकता गरौं भनेर दुवै दलका अध्यक्षहरुले महसुस गरेको बताइएको छ । माओवादीभित्र पनि एमालेसँग सहकार्य गर्नुपर्ने आवाज बुलन्द हुन थालेको छ । माओवादीका प्रभावशाली नेताहरु वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरु एमालेसँग सहकार्य गर्दा पार्टीलाई राम्रो हुने पक्षमा उभिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर