प्रधानमन्त्री कप: एपिएफलाई पराजित गर्दै नेपाल पुलिस शीर्ष स्थानमा

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लव प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा आज भएको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिस विजयी भयो । एपिएफको भने यो लगातार दोस्रो पराजय हो ।

सुरुवाती ब्याटिङ गरेको पुलिसले दिएको १ सय ४६ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा एपिएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । यो हारसँगै एपिएफ ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । पुलिसले भने खेलेका सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ आफूलाई अङ्क तालिकाको शीर्षस्थानमा पुर्याएको छ ।

यस्तै आजै भएको अर्को खेलमा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेशले जित दर्ता गराएको छ । कर्णालीले प्रस्तुत गरेको ७९ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । यो जितसँगै बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अङ्क जोडेको छ । हारेको कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अङ्क जोड्दै अङ्क ताकिलाको सातौँ स्थानमा छ ।

यसैगरि आजै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशलाई ८० रनले हराउँदै मधेश प्रदेश विजयी भएको छ । मधेशका लागि मयनको शतकसँगै ओपनर अनिल कुमार शाह र पवन सर्राफले पनि अर्धशतकीय इनिङ खेले । ३ सय २० रनको विशाल लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिम ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो । सुदुरपश्चिमको यो पहिलो हार हो । यो हारपछि सुदुरपश्चिम चार खेलमा ६ अंकसहित चौथो स्थानमा झरेको छ । मधेश भने ६ खेलमा ८ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर