भगवान् श्रीरामको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरमा खुशीयाली

काठमाडौं । त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधका राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा आज माघ ८ गते (जनवरी २२) मा राम जन्मभूमिमा नवनिर्मित मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।

यस अवसरमा भगवान् रामको ससुराली एवम् माता जानकीको माइती जनकपुरधाममा धूमधामका साथ खुशीयाली मनाइएको छ । जनकपुरधामस्थित जानकी मन्दिरलगायत जनकपुरवासीले आज आ–आफ्नो घरलाई शृङ्गारेका छन् । जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरी घर–घरमा दीपोत्सव मनाए ।

हर्षोल्लासका साथ जनकपुरधामवासीले दीप प्रज्वलन तथा झाँकीहरूमा आफ्नो सहभागिता जनाए । जनकपुरधामका प्रत्येक चोक तथा घरमा रामधुन गुञ्जायमान भएको सुन्न सकिन्छ छ भने हरेक घरमा भगवान् रामको झण्डा लहराउँदै गरेको दृश्य देखिएको छ ।

त्याग र समर्पणका प्रतीक मर्यादा पुरुषोत्तम भगवान् श्रीरामलाई विश्वका सनातन धर्मावलम्बीले पूजा गर्छन् । भगवान् रामको विवाह माता सीतासँग भएकाले मिथिलावासी रामलाई भिनाजुसरह मान्यता दिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर