अयोध्या पुर्‍याइएका कालीगण्डकीको शिला उत्खनन स्थलमा सवा लाख दीप प्रज्वलन

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका–६ स्थित कालिगण्डकी नदीमा भब्य समारोहका बिच सवालाख दियो बालिएको छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने दिन बेनी नगरपालिका, गलेश्वर क्षेत्र विकास कोषलगायतका संघसंस्थाको उपस्थितिमा गलेश्वरधाम मन्दिर र कालिगण्डकी नदीमा पूजाआजासहित कार्यक्रम गरिएको हो । बेनी र गलेश्वरबाट भक्तजनहरु शोभायात्रा, बाजागाजा र भजनकीर्तन गर्दै शिला उत्खनन् स्थल श्री रामघाट पुगेका थिए ।

देवशिलाको उद्गम स्थललाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । दुईवटा शिला उत्खनन् गरिएका स्थानलाई श्री रामघाट समेत नामाकरण गरिएको उनले बताए । देवशिला अयोध्या पुर्‍याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस भनेर क्षमापूजासहित लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । राममन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालिगण्डकी किनारबाट दुईवटा शिला लगिएको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो ।

‘नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुहरुको तर्कपछि अयोध्यायको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ,’ नगर प्रमुख केसीले भने, ‘रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गम स्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रर्वद्धन गर्न थालेका हौँ ।’
देवशिला उत्खनन गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगर प्रमुख केसीले बताए । उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजना सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर स्रोतको खोजी थालिएको छ ।

कार्यक्रममा जगत् गुरु श्री हिमालयन बाबासहित जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, धार्मिक क्षेत्रका जानकारहरुको समेत उपस्थिति रहेको थियो ।
देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर