सिंहदरबारको फोहोर उठ्न थाल्यो, तर बालेनको गुनासो : अदालतको थुप्रै आदेशको पालना भएको छैन

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि काठमाडौ. महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर उठाउन थालेको छ । सिंहदरबार क्षेत्रको फोहोर गत चैत २६ गतेदेखि उठेको थिएन। सर्वोच्च अदालतले गत शुक्रबार महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि नै सिंहदरबारको फोहोर उठेको हो।

यसअघि काठमाडौं महानगरपालिका मेयर बालेन साहले, सर्वोच्च अदालतले सिंहदरबारसमेतको फोहरमैला उठाउन दिएको अन्तरिम आदेश कार्यान्वयनका लागि आफू तयार रहेको बताएका थिए । सामाजिक सञ्जालमार्फत मेयर साहले सोमबार फोहरमैला नउठेको सम्बन्धमा अदालतले दिएको अन्तरिम आदेश प्राप्त भएको भन्दै अदालतको आदेश पालनाका लागि आफू तयार रहेको बताएका हुन्।

तर अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै नभएर संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक भएको उनले गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको उनले बताए।

उनले लेखेका छन्, ‘बागमती, बिष्णुमती र मनोहरा तथा यिनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउनेसम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुआब्जासम्बन्धी दुई दशक अगाडिको सर्वोच्च अदालतको आदेशलगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ। अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटांनीबीचको विभेदलाई वैधानिकरुपमा नै स्वीकारेको अर्थ लाग्ने देखिन्छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर